काठमाडौं,
मंसिर २० ।
यसअघि दुईवटा संस्करण भव्य रूपमा सम्न्न भएको ‘सप्तरङ्ग’ फेरि हुनेभएको छ । सातै प्रदेशमा हुने ‘सप्तरङ्ग-३’ को विषयमा सोमबार राजधानीमा एक कार्यक्रमबीच जानकारी गराइयो । आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग-३’ सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने बताएको छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल आशय हो ।
पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मंसिसरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग-३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टालगत्तै मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ ।
‘सप्तरङ्ग-३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकार सहभागी हुनुहुनेछ ।
नेपाल र नेपालीलाई चिनाऔं र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभूषालाई विश्व सामु आफैं चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो भन्ने भनाइलाई प्रष्टाइएको छ ।
यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र समृद्धिको नारालाई प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको होष्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्नुहुनेछ ।






