काठमाडौं,
मंसिर १२ ।
कौडा किङ गणेश गुरुङको आगामी माघ २३ गते राजधानीमा एकल साँझ हुने भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा हुन लागेको एकल साँझमा गायक गणेश गुरुङले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरू प्रत्यक्ष वाद्यवादनमा सुनाउने भएका छन् । २०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट साङ्गीतिक यात्रा सुरु गरेका गायक गुरुङका ल्वाङ सुपारी, सल्ला धुपैले, गोगन पानीमा, सुनको औठी, दाइ त मेरो लाहुर जाने, गोरखा मनकामना, गोरखा डाँडा, सिरानचोक, गाउँ चिनारी गीत लगायत तीन सय भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् भने चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरू बजारमा रहेका छन् । २५ भन्दा बढी गुरुङ चलचित्रमासमेत गायन, सङ्गीत र अभिनयका माध्यमले क्रियाशील रहेका गायक गुरुङ पछिल्लो समय कौडा किङका रुपमा पनि परिचित छन् ।
एसियाकै नमूना गाउँ तथा नेपालकै प्रथम स्मार्ट भिलेजका रुपमा रहेको घलेगाउँले धेरै कलाकारहरूको स्तरोन्तती गर्ने क्रममा सहयोग गर्दै आएको छ । लोक, आधुनिक र चलचित्र गायनको क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएका गायक गणेश गुरुङ एकल साँझ गर्न पाउनु आफूलाई भाग्यमानी ठानेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले बताउनुभयो । यसभन्दा अगाडि कसैले पनि उहाँको एकल साँझ नगरिदिँदा आफूहरू भाग्यमानी बनेको क्होलासोथर गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका घलेले बताउनुभयो । सालिन, भद्र, अनशासित कलाकारको रुपमा मुलुकको मौलिक गीत सङ्गीतमा सदैव सक्रिय रहँदै आउनुभएका गायक गुरुङले आफ्नो समुदाय र भाषाभाषीको समेत सम्बद्र्धन र प्रबद्र्धनमा उल्लेख्य योगदान दिएको अध्यक्ष घलेले बताउनुभयो ।
‘सेवा नै धर्म हो’ भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘गणेश गुरुङ एकल साँझ’ले अनाथ बालबालिकाको शिक्षा, चेतना अभिबृद्धि एवम् समाज विकासका लागि केही योगदान पुर्याउने लक्ष्य राखेको छ । विशेष गरी समाजमा रहेको कला संस्कृति एवम् सामाजिक गतिविधिलाई अझ समुन्नत बनाउनका लागि र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत सङ्गीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘गणेश गुरुङ एकल साँझ’ लाई आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले जानकारी दिनुभयो । कार्यक्रम आगामी माघ २३ गते ऋषिपञ्चमीको दिन राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।






