डा. डीआर उपाध्याय
काठमाडौं,
मंसिर १२ ।
यतिबेला नेकपा एमाले दशौं महाधिवेशनमा छ । चितवनमा भइरहेको यो महाधिवेशनले बिशेष महत्व राखेको छ । राजनीतिक दलहरूले यतिबेलाको समयलाई महाधिवेशनको समय बनाएका छन् । देश नै राजनीतिक महाधिवेशनमय बनेको छ । एमालेको महाधिवेशनलाई धेरैले विशेष चासोका साथ नियालिरहेका छन् ।
आगामी एमाले कस्तो हुने बहस भइरहेको छ । त्यसैले उतारचढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको भरोसा योग्य पार्टी बनाउनेगरी दशौं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने भनाइ हो । एमाले महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने बिषयले यतिबेला निकै महत्त्व पाएको छ। किनकि टुटफुट र एकताको आधारमा यो महाधिवेशन सम्पन्न हुन गइरहेको छ । देशको नेतृत्व गर्ने पार्टीसँग दुरदर्शीता चाहिन्छ । त्यो सबै नेतामा हुनुपर्छ ।
आजको दुनियामा दुरदर्शी बिनाको व्यक्तिले राजनीतिक नेतृत्व गर्न सक्दैनन् । १०औं महाधिवेशनले एकताको सन्देश दिन सक्नुपर्छ । महाधिवेशनले मूलतः राष्ट्रवाद र समृद्धिको कार्यक्रमलाई कार्यान्वयन गर्न विचार र एकताबद्ध नेतृत्वको निर्माण गर्नुपर्छ । महाधिवेशनमा पार्टी नेतृत्वमा दाबी गर्नसक्ने र निर्वाचित हुन पाउने लोकतान्त्रिक एवम् नैसर्गिक अधिकार सहभागी सबै प्रतिनिधिलाई बराबर रहन्छ ।
प्रतिनिधिले अधिकारको प्रयोग गर्न पाउनुपर्छ । पार्टी वा आन्दोलनलाई थप बलियो बनाउन सबै जिम्मेवार बन्नुपर्छ । पार्टीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । एकताका आधारहरू र नयाँ सन्दर्भमा पार्टीको विकास गर्ने कुरामा बिशेष ध्यान दिनुपर्छ । लोकतन्त्रको नाममा पार्टी आन्दोलनलाई नै कमजोर बनाउँने काम कसैले गर्नुहुँदैन । महाधिवेशनमार्फत एकताबद्ध नेतृत्व चयन गर्नुपर्छ । त्यसो गर्दा नै पार्टीमा वैचारिक तथा भावनात्मक एकता पैदा हुन जान्छ ।
धेरै कम्युनिस्ट नामका पार्टीहरूको अस्तित्वका कारण आमजनतामा भ्रम पैदा भइरहने र कम्युनिस्ट आन्दोलन प्रभावकारी बन्न नसकेको अवस्था छ । स्थापना कालदेखि नै टुटफुट र एकताको चरणबाट गुजर्दै आउँदा पनि एमालेले आमजनतामा आफूलाई निरन्तर मूलप्रवाहको रूपमा उभ्याउन सफल भएको छ । एमालेलाई नेपाली कम्युनिस्ट वा वामपन्थी आन्दोलनको मूलप्रवाहको रूपमा स्थापित गर्नेछौं भनेर १०औं महाधिवेशनले एउटा नयाँ सङ्कल्प गर्नुपर्छ ।
अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादमा आधारित समृद्ध नेपाल सुखी नेपालीको सवाललाई यतिबेला दह्रोसँग पक्डिनुभएको छ । तीन वर्षको सरकार सञ्चालन अवधिमा धेरै पक्षको असहयोगका बाबजुद पनि उहाँले वास्तविक राष्ट्रवाद र समृद्धिको मूल्य मान्यतालाई छाड्नु भएन ।
वर्तमान संविधानले समाजवाद उन्मुख यात्रा तय गरेको छ । संविधानमा अवश्य पनि केही न केही कमजोरी छन् । ती कमजोरीलाई पार्टीले आमजनताको सहभागितामा उचित विधि र पद्धतिका माध्यमबाट हल गर्दै जान सक्नुपर्छ ।
https://www.youtube.com/watch?v=tAG9d3ewg5Y






