काठमाडौं,
मंसिर ११ ।
बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार गीतकार शुभ मुकारुङलाई प्रदान गरिने भएको छ । ‘किरात राई जाति र मुन्दुमी सामग्री’सहित दर्जन कृति लेखन, सङ्कलन, सम्पादन र प्रकाशन गरेकामा यो पुरस्कार प्रदान गर्ने निणर्य भएको बुङवाखा पत्रिकाका सम्पादक पदम राईले जानकारी गराउनुभयो । यो पुरस्कारको राशि ५५ हजार २९१ रुपैयाँ छ ।
यस्तै ५० हजार रुपैयाँ राशिको बुङ्वाखा-यूके सायाचोङ्मा पुरस्कार चन्द्रकुमार राई ‘हतुवाली’लाई प्रदान गरिने भएको छ भने ४० हजार रुपैयाँ राशिको बुङ्वाखा-पञ्चकुमारी सङ्गीत पुरस्कार सुखदेव राई, १० हजार रुपैयाँ राशिको बुङ्वाखा-रनमाया चेन्चेक्वा पुरस्कार खान्नुबुङ राई, १० हजार राशिकै बुङ्वाखा-धनेन्द्र बादिहाङ स्मृति पुरस्कार रामचन्द्र राई राजालिमलाई दिने निणर्य भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार १७औँ बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ छ । बुङ्वाखा पुरस्कार छनोट उपसमितिको मंसिर १० गते बसेको अनलाइन बैठकले पुरस्कारहरूबारे निणर्य गरेको थियो ।






