काठमाडौं,
मंसिर ९ ।
रौतहट, सन्तपुरमा २०४९ मा जन्मिनुभएका ओमा कार्कीले कुशल छायाँकारको परिचय बनाई सक्नुभएको छ । सिनेमाटोग्राफरको क्षेत्रमा काम गर्ने चाहना उहाँको सानै देखिको भएपनि गाउँमा त्यो सम्भव थिएन । एसएलसीपछि उच्च शिक्षा हासिलको सिलसिलामा काठमाडौं आउनुभयो र आफ्नो चाहनाको बिद्यामा कसरी आगाडी बढ्ने भन्ने सोचले सताईरहेको बेला बरिष्ठ क्यामराम्यान मानबहादुर थापासँगको भेटले उहाँको क्यामराम्यान बन्ने चाहनामा केही राहत मिल्यो ।
क्यामराम्यान थापाले पनि उहाँलाई ड्रिम्स क्रियशनमा प्रशिक्षण गराउने र आफूसँगै काममा लैजाने भएपछि उहाँ दङ्ग पर्नुभयो र बिस्तारै बिवाह, ब्रतवन्ध जस्ता कार्यक्रमहरू खिचेर सुरु भएको उहाँको सिनेमाटोग्राफी यात्रा अहिले बृत्तचित्र, टेलिभिजन कार्यक्रम, प्रोफाईल, डकुमेन्ट्री, सन्देशमुलक बिज्ञापन हुँदै चलचित्रसम्म आइपुगिसकेको छ ।
उहाँले एभिन्युज टेलिभिजनबाट प्रसारण हुने बिषय र विशेष, अफ द बिट, सशक्तिकरण, क्राईम, समाचारलगायत अन्य लोकप्रिय कार्यक्रमहरूको छायाँकारको रुपमासमेत काम गरिसक्नुभएको छ भने झण्डै एक वर्ष जनता टेलिभिजनमा रहेर बिभिन्न चर्चित कार्यक्रमको क्यामराम्यानको भुमिका पनि निभाउनु भएको थियो । उहाँले वीपीको बिद्रोह, भूकम्पले पारेको असर, कथा नालापानीको, परिवर्तन, परिणाम, एयर क्राफ्ट म्युजियम, गरिबीलगायत दर्जनौ ऐतिहासिक र सन्देशमुलक चलचित्र एवम् बृत्तचित्रहरुको छायाँकन गर्न भ्याइसक्नु भएको छ ।
टेलिभिजनको स्टुडियो होस वा चलचित्र सुटिङस्पट युनिटमा सबैसँग मिलेर सहकार्य गर्न सिपालु कुशल क्यामराम्यान कार्की बिभिन्न संघसंस्थामा रहेर आफ्नो जिम्मेवारी निभाउदै आउने क्रममा दर्जन बढी अवार्ड र सम्मानबाट सम्मानित भइसक्नुभएको छ । आफ्नो क्षमताका कारण एकपछि अर्को काममा निरन्तर लागिरहनु भएकी कार्की चलचित्र, टेलिचलचित्र र समाचार वाचन नै किन नहोस् त्यसको मेरुदण्ड मध्ये छायाँकारको भूमिका पनि महत्वपूर्ण रहने बताउनुहुन्छ ।






