काठमाडौं,
मंसिर ६ ।
चलचित्र ‘गुञ्जन’ युनिट यतिबेला दुवई पुगेको छ । चलचित्रको एक गीत ‘सासै चल्छ पल पल तिम्रै मायाको…’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जनसहित अभिनेता प्रिमतराज सेञ्चुरी र अभिनेत्री सारा सिर्पालीको साथमा जम्बो युनिट दुवई पुगेको हो ।
प्रिमतराज र साराको रोमान्टिक अञ्दाजमा चलचित्रको गीत दुवईको बिभिन्न आकर्षक लोकेसनमा छायाँकन भइरहेको छ । जसको कोरियोग्राफी कबिराज गहतराजले छायाँकन बिदुर पाण्डे गरिरहनु भएको छ ।
विगत दुई दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आउनुभएका अष्टको निर्देशनमा यो डेब्यु चलचित्र हो । आफूले चलचित्र क्षेत्रबाट सिकेको, जानेको सबै ‘गुञ्जन’मा खन्याएको अष्टले बताउनुभयो ।
विशुद्ध प्रेमकथाको बिषयमा बनेको चलचित्रमा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । प्रितमराजले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको छ ।
राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको सङ्गीत रहेको चलचित्रको काठमाडौं, पोखरा, जोमसोममा छायाँकन भएको छ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्ससमेत रहेको छ । उहाँले ‘कोही भन्छन् रसिली छु रे…’ बोलको गीतमा आइटम नृत्य गर्नुभएको हो ।






