काठमाडौं
मंसिर २ ।
निम अवार्डको पाँचौ संस्करणको आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२२’ को आवेदन आव्हान गरिएको हो । आगामी चैत्र २० गते र्याडिसन होटेल काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि यही मंसिर १ गतेवाट आवेदन फारम खुला गरिएको हो । विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अर्वाडको यो पाँचौ संस्करण हो ।
निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलीने विभिन्न भाषा-भाषीका गीत संगीतलाई बिशेष प्राथमिकताका साथ समेटिदै आएको र अहिले सम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरूको उत्साहपूर्वक सहभागिता हुँदै आएकोले पनि यसलाई नेपालकै पहिलो समाबेशी अवार्डको नारा दिइएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोजकका अनुसार नेपालीसहित काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरू अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषाका गीत संगीतहरूलाई अवार्ड कार्यक्रममा समेटिने छन् ।
अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ नोभेम्बर ३० सम्म (१वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरूलाई समावेश गरिने आयोजक समितिको निर्देशक कमला जोशीले वताउनुभएको छ । गीतहरू दर्ता गर्नको लागी आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागि निर्धारण गरिएको वताईएको छ ।






