काठमाडौं,
कात्तिक ३० ।
बरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत हुनुभएको छ । उहाँलाई मंगलबार काठमाडौंमा एक समारोहबीच वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बास्कोटालगायतले ५१ हजार रुपैयाँ नगदसहित कन्हैया सिंह राष्ट्रिय सङ्गीतकर्मी पुरस्कार-२०७८’बाट पुरस्कृत गर्नुभएको हो ।
पछिल्लो समय अमेरिकामा बस्दै आउनु भएका वरिष्ठ सङ्गीतकार तथा गायक कन्हैया सिंह परियारले आफ्नो ५०औं जन्म दिनको अवसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार-२०७८ स्थापना गर्नुभएको थियो । उहाँ काठमाडौं आएको बेला सो पुरस्कार मंगलबार काठमाडौंमा वरिष्ठ गायिका शाहलाई प्रदान गरिएको हो ।
सो पुरस्कार प्रदान गरेपछि समारोहलाई सम्बोधन गर्दै वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाले नेपाली लोकसङ्गीत सिर्जना र भाका सङ्कलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताउनुभयो । टीका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा बोल्दै सरकारले दिएको पुरस्कारभन्दा निजी क्षेत्रबाट प्राप्त यति ठूलो राशिको पुरस्कार आफ्नो लागि अझ महत्वपूर्ण भएको गायिका चन्द्रकला शाहले बताउनुभयो ।
यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक भीमार्जुन आचार्य, गीतकार माधवराज खरेललगायतले गायिका चन्द्रकला शाहले नेपाली लोकसंगीत क्षेत्रमा साँढे चार दशकदेखि पुर्याएको योगदानको सो क्रममा चर्चा गर्नुभएको थियो ।






