डा. डीआर उपाध्याय
काठमाडौं,
कात्तिक २८ ।
नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि जनता निराश बनेका छन् । आज मूल्यवृद्धिले भयावह अवस्था निम्त्याएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा जनता रुने की हाँस्ने अबस्थामा छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनतामा आर्कोश थपिएको छ । मूल्यवृद्धि भएपछि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढ्न जाँदा अब एक ग्यास सिलिन्डरको मूल्य १५ सय ७५ रुपैयाँ हुन गएको छ । पेट्रोल प्रतिलिटरको मूल्य १ सय ३६ रुपैयाँमा पुग्दा डिजेल मट्टीतेल प्रतिलिटर मूल्य ११९ रुपैयाँ हुन पुगेको छ । आन्तरिकतर्फको हवाई उडानमा इन्धन प्रतिलिटर पाँच रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको छ ।
निगमले गत कात्तिक १२ गते मात्र तेलमा प्रतिलिटर तीन रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरिसकेको थियो । एक महिनामा दुई/दुईपटक मूल्य वृद्धि गरेर सरकारले के गर्न खोजेको हो ? यो गाइजात्रे शासनले जनता सन्तुष्टि छैनन् । मूल्यवृद्धि फिर्ता गर भन्दै विद्यार्थी संगठनहरू सडकमा छन् । सबै सङ्गठनहरूले संघर्षको घोषणा गरिरहेका छन् । उनीहरूले शुक्रबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका थिए । एकातिर कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण आम नागरिक आर्थिक रूपमा टाट पल्टिएका छन् । यस्तो अवस्थामा मूल्य वृद्धि गर्नु राम्रो कुरा होइन । त्यसमाथि उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गर्दा जनता कसरी बाँच्ने ? सरकारले जनताको समस्या किन बुझन नसकेको ? देशले अझैं डरलाग्दो आर्थिक सङ्कटको सामना गर्नुपर्ने देखिन्छ ।
महामारीले थलिएको देशको आर्थिक अवस्था नाजुक छ । मूल्यवृद्धिले सरकार जनताको पक्षमा काम गर्न असक्षम छ भन्ने पुष्टि गरेको छ । सरकारले यसको समीक्षा बेलैमा गर्न जरुरी छ । बेलैमा मूल्यवद्धि फिर्ता गर्नतिर सरकारको ध्यान जान सकेन भने थप सङ्कट निम्तन सक्ने खतरा पनि छ । आवधिक निर्वाचनमा यसको ठूलो असर पाँच दलीय गठबन्धन दललाई पर्ने देखिनेछ । यो कदम सरकार आफैँका लागि पनि घातक छ । जनता सधै सरकारको अत्याचारलाई टुलुटुलु हेरेर बस्न सक्दैनन् । एकै महिनामा दुईपटक मूल्यवृद्धि गरिनुको कारण सरकारले खुलाउनुपर्छ । मूल्यवृद्धि फिर्ता गरेर सरकारले जनताको मन जित्न सक्नुपर्छ ।
जनताको समस्या दिन प्रतिदिन बढदै छन् । जनताको समस्या समाधान गर्ने कुरामा सरकार गम्भिर छैन । यसरी जनता माथि शोषण गरेर शासन गर्नु राम्रो होइन । जनता समस्यामा परे भने उनीहरुले बिद्रोह गर्न बाध्य हुने छन् । बिगतको इतिहासबाट पाठ सिकेर सरकार अघि बढनुपर्छ । आफ्नो मनपरी गरेर सरकारले जनतालाई सधै सास्ती दिने काम गर्नु उचित होइन । जनताले तिरेको कर सही रुपमा सदुपयोग हुनुपर्छ । राजनीति दल र तिनका नेताहरू मोटाउदै जाने जनता दुब्लाउदै जाने जुन किसिमको अबस्था देखिएको छ । यसले राम्रो सङ्केत गरिरहेको छैन । अब राजनीति दल र तिनका नेतामा सुधार आउन जरुरी छ ।






