दलित पत्रकार संघको केन्द्रीय पूर्ण बैठक सम्पन्न

अमिर रामदाम
चितवन,
कात्तिक १५ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रीय पूर्ण बैठक सम्पन्न भएको छ । तीन दिन पहिलेदेखि चितवनमा जारी बैठक आइतबार सकिएको हो । बैठक कात्तिक १२ गते रातीदेखि शुरू भएको थियो ।

प्रथम राष्ट्रिय महाधिवेशनपछि भौतिक उपस्थितिमै यसपटक चितवनमा केन्द्रीय पूर्ण बैठक आयोजना गरिएको संघका केन्द्रीय महासचिव लक्ष्मण दर्नालले जानकारी दिनुभयो ।

बैठकमा संघका केन्द्रीय महासचिव दर्नालले संघको दुई वर्षे रणनीति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । संघको केन्द्रीय सचिवालय अनुसार बैठकले देशभर घटेका जातीय भेद्भाव तथा छुवाछूतका घटनाहरू थप अध्ययन, अनुसन्धानगरी पीडित परिवारलाई क्षतिपूर्ति, पीडकलाई कडा भन्दा कडा कारवाही गर्न र उच्चस्तरीय छानबिन समितिको गठन गर्न माग गरेको छ । बैठकले कोरोना भाइरस (कोभिड-१९) र मिडियामा विविध कारणले पत्रकारिताबाट कयौं पत्रकार तथा सञ्चारकर्मीहरूले जागिर छोड्नुपरेको र त्यसबाट दलित समुदाय बढि प्रभावित भएको निष्कर्ष निकालेको छ । मिडियामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व व्यवहारतः कार्यान्वयन गराउने पक्षमा बैठकमा माग गरेको छ ।

यस्तै बैठकले नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न, सरकारी सञ्चार माध्यमका सञ्चालक समिति एवम् बोर्डमा समावेशीताको आधारमा राजनीतिक नियुक्ति गर्न र जातीय भेदभाव तथा छुवाछुतका घटनाहरूलाई प्राथमिकतासाथ मिडियाकरण गर्न माग गरेको छ ।

त्यस्तै केन्द्रीय पूर्ण बैठकले सात विभाग र एक समिति चयन गरेको छ । बैठकले संघको सङ्गठन विभाग संयोजकमा लक्ष्मण दर्नाल, महिला विभाग संयोजकमा कमलाकुमारी वि.क., आर्थिक प्रशासनिक विभाग संयोजकमा भीमबहादुर घिमिरे, अन्तर्राष्ट्रिय समन्वय विभाग संयोजकमा बुद्धि विश्वकर्मा, प्रकाशन तथा प्रसारण विभाग संयोजकमा विनोद परियार, योजना तथा अनुगमन विभाग संयोजकमा गोपाल बराईली, प्रशिक्षण विभाग संयोजकमा मिलन परियार र पुरस्कार कल्याण कोष तथा पुरस्कार व्यवस्थापन समिति संयोजकमा अमर सुनार चयन गरेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रीय पूर्ण बैठकको आतिथ्य तथा व्यवस्थापन चितवन शाखाले गरेको थियो । संघको आगामी केन्द्रीय पूर्ण बैठक पुष २४ गते काठमाडौंमा आयोजना गरिने संघका केन्द्रीय महासचिव दर्नालले जानकारी दिनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको गत फागुन २८ र २९ गते बुटवलमा सम्पन्न भएको प्रथम राष्ट्रिय महाधिवेशनमा घोषणा भएका उत्कृष्ट शाखाहरू मध्यबाट चितवन शाखा र नवलपुर शाखालाई केन्द्रीय पूर्ण बैठकको अवसरमा उत्कृष्ट शाखा सम्मान हस्तान्तरण गरेका थिए । संघको चितवन शाखाका अध्यक्ष अमिर रामदाम र नवलपुर शाखाका अध्यक्ष गोविन्द नेपालीले सम्मान ग्रहण गर्नुभएको थियो । संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले उक्त शाखा सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । चितवनमा आयोजित केन्द्रीय पूर्ण बैठकमा अध्यक्षता संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार