काठमाडौं,
कात्तिक २ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
अहिले देशका अधिकांश भू-भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाका अनुसार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको हुन सक्नेछ ।
प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।






