काठमाडौं,
असोज २३ ।
लोकप्रिय सङ्गीतकार तथा गायक वसन्त सापकोटाको नयाँ गीत सार्वजनिक गरिएको छ । वसन्तसँगै मेलिना राईको स्वर रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजित पत्रकार भेटघामा प्रदर्शन गरिएको थियो ।
संगीत रोयल्टी संकलन समाजका अध्यक्ष, वरिष्ट सङ्गीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा सङ्गीतकार वसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाउनुभएको थियो । अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर हुनुहुन्छ ।
कार्यक्रममा सुधीरले आफ्ना विगतका भिडियो झै ‘राधा पियारी’ पनि दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, गरिमाले गीतको शब्द, स्वर, सङ्गीतमात्रै नभई भिडियो पनि उत्कृष्ट बनेकाले दर्शकको प्रतिक्रिया लिन आफू निकै आतुर रहेको बताउनुभयो । ‘यो गीतको हिस्सा बन्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ गरिमाले भन्नुभयो, ‘मैले आफूले सक्दो मिहिनेत गरेको छु । दर्शकले मन पराउनेमा आशावादी छु ।’ यसअघि थुप्रै भिडियोमा गरिमासँग काम गरेकाले आफूलाई गरिमा सहज लाग्ने सुधीरले बताउनुभयो ।
निर्देशक काजी र श्यामले आफूहरूले भिडियोमा ‘कमेडी फ्लेभर’ प्रस्तुत गर्न खोजेको बताउँदै भन्नुभयो, ‘गीतको भावनुसार दर्शकलाई अधिक मनोरञ्जन दिने कोसिस गरेका छौं । सोही अनुरूप हास्य रस मिसाएका हौं ।’ गायिका मेलिनाले आफूले वसन्त सापकोटाको संगीतमा थुप्रै गीतहरू गाएको र सफलसमेत भएको स्मरण गर्दै उहाँसँग यो गीतमा पुनः सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले वसन्तको संगीत तथा गायन कलाको प्रशंसा गर्नुभयो । उहाँले वसन्तका हरेक गीतका आफ्नै विशेषता रहेको बताउँदै अझ प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी, कार्यक्रमका अर्का अतिथि निर्देशक कृष्णमुरारी ढुंगेलले गीतको मर्मनुरूपको भिडियो बनेकोमा निर्देशक तथा सुधीर र गरिमाको तारिफ गर्नुभयो । उहाँले वसन्त र मेलिनाको गायन कलाको पनि प्रशंसा गर्नुभयो । अर्का अतिथि संगीतकार चेतन सापकोटाले गीत र भिडियो आफूलाई निकै मनपरेको बताउनुभयो । उहाँले वसन्तको संगीतमात्र होइन, गायन उत्तिकै अब्बल रहेको र उहाँले यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । सञ्चारकर्मी लक्ष्मण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा ‘राधा पियारी’मा संलग्न कलाकर्मीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युब च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ । उत्सव दाहालले खिचेको भिडियोको कोरियोग्राफी सन्तोष राजबहाकले गर्नुभएको हो । विकास दाहालले सम्पादन गरेको भिडियोको प्रस्तुतकर्ता भीमा लोहार हुनुहुन्छ ।






