पोखरा,
असोज १९ ।
दीपेन्द्र बुढा ठकुरीको स्वरमा रहेको गीत ‘सुनको महल’ सार्वजनिक भएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो । संगीत र एरेञ्जको अर्जुन थापाको रहेको भिडियोमा निर्देशन पनि अर्जुन कै छ ।
गीत सार्वजनिक कार्यक्रममा गायक दीपेन्द्रले गीतसङ्गीतमा पहिल्यैदेखि रुचि भएपनि यस गीत आफ्नो पहिलो म्युजीक भिडियो भएको बताउनुभयो । भिडियोमा हेलिकप्टरदेखि मङ्हगा लोकेसनमा छायांकन गरेको देखिन्छ । यसै बिषयमा सञ्चारकर्मिहरूको प्रश्नमा निर्मातासमेत रहनुभका दीपेन्द्र भन्नुहुन्छ, ‘मैले यस भिडियोमा निर्माताको नजरबाट पनि कुनैपनि कमि हुन दिएको छैन । सकेसम्म राम्रो बनाउँ भनेर लागेका हौं । कस्तो लाग्छ दर्शकले भन्नुहुनेछ ।’ दीपेन्द्रका अनुसार भिडियो निर्माण देखि प्रमोशनसम्म गर्दा झण्डै १३ लाख खर्च भइसकेको छ ।
निर्देशक अर्जुनले पनि आफ्नो टिमले सक्दो मिहिनतका साथ काम गरेको बताउनुभयो । राती अबेरसम्मको छायांकनमा पनि कलाकारसँगै प्राविधिक टिमको मिहिनतले भिडियो राम्रो बनेको अर्जुनले बताउनुभयो । ‘कलाकार र प्राविधिक दुबैको पाटो उत्तिकै महत्पूर्ण हुन्छ । सबैबाट एकदम खुशी छु’, अर्जुनले भन्नुभयो, ‘निर्माताको हिसाबबाट दीपेन्द्र जिले कुनै कम्प्रमाइज गर्नुभएको छैन र कलाकारहरूले पनि उत्तिकै मिहिनत गर्नुभएको छ ।’ भिडियोमा वरिष्ठ कलाकार निर शाह र लोकप्रिय नायिका केकी अधिकारीको पनि मुख्य अभिनय छ । भिडियोमा सुशिल डाँगीको छायांकन छ भने विवेक सुनारले सम्पादन छ । भिडियोको निर्मात्री मिना श्रेष्ठ हुनुहुन्छ ।
भिडियो सार्वजनिक कार्यक्रममा नायिका केकी स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट कुराकानी गराइएको थियो । भर्चुअल माध्यमबाट केकीले भिडियोमा काम गर्दाका अनुभव बताउनुभएको थियो । साथै आफ्नो स्वास्थ्यमा समस्या आएकाले पोखरा उपस्थित हुन नसकेको पनि जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यक्रममा भौतिक रुपममै उपस्थित हुन मन थियो तर फिबर भएकाले आउन सकिन्, गीतको भिडियोमा हामी कलाकारसँगै प्राविधिक टिमले निकै मिहिनत गरेको छ, दर्शकलाई पक्कै मनपर्छ ।’ केकीले दीपेन्द्र र अर्जुनको टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रमको गोपिकृष्ण चापागाईंले सहजीकरण गर्नुभएको थियो । भिडियो ओ.एस.आर. डिजिटलको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।






