काठमाडौं,
असोज १६ ।
नेपाल चलचित्र कलाकार सङ्घको १८ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीमा एक विशेष समारोहबीच सङ्घको १८ औं साधारणसभा सम्पन्न भएको हो । उद्घाटन सत्रको कार्यक्रम सङ्घका अध्यक्ष रविन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।
समारोहमा विशिष्ट कलाकार वसुन्धरा भुसाल, भूवन चन्द र चैत्यदेवीका साथै प्रथम महिला टेम्पो चालक लक्ष्मी शर्मा, चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ-संस्थाका अध्यक्ष एवम् पदाधिकारीहरू, चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, विशिष्ट चलचित्रकर्मीहरू मदनदास श्रेष्ठ, कृष्ण मल्ल, रवी गिरी, लय सङ्ग्रौला एवम् सङ्घका पदाधिकारीहरू लगायतका चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
कार्यक्रममा सङ्घका अध्यक्ष एवम् समारोहका सभापति रविन्द्र खड्काले आफ्ना भनाईहरू राख्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पार्नुभएको थियो । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले यही दशैँ अघि नै नेपालभरका सिनेमाघरहरू खुल्ने बताउँदै बोर्डले गरेका अन्य महत्वपूर्ण कामहरूको बारेका जानकारी गराउनुभएको थियो ।
समारोहमा बसुन्धरा भुसालले सङ्घले आयोजना गरेका कार्यक्रम एवम् चलचित्रकर्मीहरूको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कल्कर्मीहरूप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । यस्तै कलाकार मदनदास श्रेष्ठले समारोहमा नाम चलेकै धेरैजसो कलाकारहरू अनुपस्थित रहेकोप्रति आक्रोश पोख्नुभएको थियो । त्यस्तै कलाकार कृष्ण मल्लले पनि आफ्ना कुरा राख्दै मनगढन्ते उपाधि लिने र दिनेहरूप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
समारोहमा लय सङ्ग्रौलालगायतका वक्ताहरूले सङ्घको वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरूको खुलेर प्रशंसा गर्नुभएको थियो ।कार्यक्रम सङ्घका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले सञ्चालन गर्नुभएको थियो । उहाँले कोभिडका कारण पूर्व समयमा घोषणा भएर पनि साधारण सभाको आयोजना गर्न नसकिएको बताउनुभयो ।






