पेशल आचार्य
रामेछाप, मन्थली
असोज १३ ।
जान्नु भन्दा
नजान्नु धेरै सुख
बोधमा भन्दा
अबोधमा धेरै आनन्द
मैले जानेँ भनेर पनि
धर पाउँदैनन् यहाँ विद्वान्हरू
मैले बुझेँ भनेर पनि
सुख पाउँदैनन् यहाँ महामनाहरू
बुझेँ भनेपछि त फस्यो
जानेँ भनेपछि त झन् घेरियो
बरू चुपचाप चुपचाप आफैँ
विषयमा पस्दै निस्किदै
गर्यो भनेतैबरू बेस होला !
हिजो को बुझ्ने थियो ?
आजको सर्वज्ञ छ ?
भोलि कसको विद्वता संसारमा रहन्छ ?
केही पनि थाहा छैन
कसैलाई पनि ज्ञात छैन
कसैले अड्कलसमेत गर्न सकेका छैनन्,
त्यसैल अझै पनि
भलि भाँती जीवन बुझ्नका लागि
बालक हुन मन लागेको छ
कस्तो हुँदो रहेछ ?
सत्य बोल्न र बुझ्न
मन लागेको छ
कस्तो हुँदो रहेछ ?
नाबालक बनी संसार हेर्नुको मज्जा
अबोध हुन मन लागेको छ
समसम आगोनेर गएर छुन
खुरूखुरू पानीनेर गएर हेलिन
नबुझीकन केही जटिल कामहरू गर्न
दुर्बोध्यतामा हात हाल्न
धेरै मजा हुन्छ !
धेरै मज्जा !!
जो बोधभएको मानिसले सक्दैन
जो ज्ञान पसेको मानिसले मान्दैन,
बालक नै हुन मन लागेको छ
केटाकेटी नै हुन मन परेको छ
के गर्दो रहेछ ?
कसो गर्दौ रहेछ ?
कसरी ट्रिटमेन्ट गर्दोरहेछ
आफूलाई
परिवारलाई
समाजलाई
देशलाई
र विश्वलाई?
साँच्चै, सानो अबोध केटाकेटी भएर
नाङ्गै भुतुङ्गै भएर
धूलै धूलो खेलेर
मस्त मौलाना हुन पाए
के हुन्थ्यो होला ?
अझै यो जुनीमा
अबोध बालक हुन पाए ??






