पेशल आचार्य
रामेछाप, मन्थली
असोज ९ ।
रङ्गहीन
अकारहीन
स्वादहीन
र गन्धहीन
अरूपनि धेरै होलान्
परिचयका अनुल्लेख्य मापनीय विम्बहरू
पानीका
पानी के हो भन्दा
पानी के होइन भन्न मन लाग्छ
पानी कहाँ छ भन्दा
पानी कहाँ छैन भन्न मन लाग्छ
यत्र, तत्र र सर्वत्र
पानी-पानी छ जगत्मा
जहाँतहीँ छ पानी,
ओम् भूर्भूवश्व
तश्यविरू वरण्यम्
भार्गोदेवश्य धिमही
धियोयोन प्रचोदयात्
जल
सलील
पानी
पञ्चतत्वमा एक
अनिवार्यतत्व
देखेर सबै प्राणीका अन्र्तआत्मा रसाउने
एकमात्र विकल्पहीन पियूष
खोजेर कतै पाइन्नँ,
संसारमा आउने शताब्दी
पानीका लागि दुन्दुभी हुनेछन्
संसारमा आउने समयमा
पानीका लागि युद्ध लड्नेछन् मानिसहरू
पानीले गालेका मानिसहरू
र मानिसले प्रदूषित बनाएका पानीमा
अकण्टक मुद्दा चल्नेछ
वातावरणवादीहरूका बीच
पर्यावरणवादीहरूका माझ
पानी-पानी हुनेछन्
पानीलाई आफ्नो काबुमा राख्नेहरू
पानी-पानी भन्दै छट्पटाउने छन्
पानीलाई आफ्नो नियन्त्रणमा राख्नेहरू पनि
तर यो कुरा कमैलाई मात्र ज्ञात छ
पानी विना यहाँ कसैको
न चुल्हो चल्न सक्छ
न आगो बल्न सक्छ
न जीवन अघि बढ्न थाल्छ
न भवसागर चलायमान हुन थाल्छ
जे छ पानीमा छ
जे हुन्छ पानीमा हुन्छ
पानीमा रहेर मगरमच्छसँग दुश्मनी गर्नु
र पानी माथिको ओभानु हुनु
अहिलेका मानिसको चरित्र भैसक्यो
जस्ते कि यहाँ परिचय दुईटा हुनेको
एकर्कासँग पानी बाराबार छ
पानीका लागि मारामार छ ।।






