काठमाडौं,
असोज ३ ।
भारतको दादा साहेव फाल्के इन्टरनेशनल अवार्ड फिल्म फाउण्डेशनको इन्टरनेशनल एम्बेसडरमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलाई चयन गरिएको छ । भारतका विभिन्न अवार्डमध्ये ‘दादा साहेव फाल्के अवार्ड’ प्रतिष्ठित रुपमा मानिन्छ । सिनेमा क्षेत्रमा विशेष योगदान पुर्याएवापत विभिन्न व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरिन्छ ।
दादा साहेब फाल्केको जन्म शताब्दी वर्ष १९६९ देखि भारत सरकारको सञ्चार मन्त्रालयले यो अवार्ड सुरु गरेको हो । ‘मलाई यो अवार्डको इन्टरनेशनल एम्बेसडरमा चयन गरिएको छ खुशी लागेको छ’, डा. उपाध्यायले भन्नुभयो ।
गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ५९ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।
डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत छन् । उहाँका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।






