काठमाडौं,
भदौ ३१ ।
बिहीबार थप एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा थप एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ८१ हजार ९८९ पुगेको छ ।
यस्तै उपत्यकामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर पछिल्लो समय २५ हजार ७७२ जना सक्रिय संक्रमित छन् । तीमध्ये २४ हजार २२२ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा एक हजार ५५० संक्रमित छन् भने ४०७ जना आइसियुमा र १२८ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै बिहीबार एक हजार ६८९ जना संक्रमण मुक्त भएका छन् । योसँगै सात लाख ४५ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ ।
बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १.५ प्रतिशत छ ।
नेपालमा २० प्रतिशत जनसंख्याले कोरोना विरुद्धको पहिलो मात्रा खोप पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबारसम्म अनुसार ६० लाख ५७ हजार १९४ पहिलो मात्रा खोप लगाएका छन् । त्यसैगरी, ५४ लाख ७३ हजार १५१ अर्थात १८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।






