नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रह विमोचित

काठमाडौं,
भदौ २७ ।

मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रह विमोचित भएको छ । नेपाल साहित्यिक पत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो ।

विमोचित कविता सङ्ग्रहका बारेमा वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै नवोदितको कवितासङ्ग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताउनुभयो । उहाँले सङ्ग्रहले नेपालको राजनीतिक, आर्थिक, सामाजिक मात्रै नभएर लैंगिक विभेदलाई सशक्त रुपमा उठाएको उल्लेख गर्नुभयो ।

त्यस्तै समालोचक ज्ञानु अधिकारीले नेपाली कविता साहित्यकै सबैभन्दा पुरानो विधा भएको बताउँदै नवोदितको कविता सङ्ग्रहले त्यो इतिहासमा एउटा इँटा थपेको चर्चा गर्नुभयो ।

कार्यक्रममा अग्रज कवि विमल भौकाजी, उमेश राई अकिन्चन, शकुन्तला जोशी, महेश पौड्याल, शुभलक्ष्मी लम्साल, रामगोपाल आशुतोष, मन्जिला उपाध्यायले विमोचित कृतिका कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले नेपाली साहित्यको कविता विधामा नवोदितले प्रचुर सम्भावना बोकेको बताउनुभयो । नवोदितको लेखन अहिलेको युवा पुस्ताका लागि नयाँ आयाम भएको र विशेषगरी ग्रामीण विषयलाई उठाउने गरेको उहाँले बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले नयाँ सङ्ग्रहले नवोदितलाई युवा पुस्ताका सशक्त कविका रुपमा स्थापित गरेको बताउनुभयो ।

नेपाल सरकारबाट २०७७ सालको युवावर्ष मोती पुरस्कारबाट विभूषित नवोदितका यसअघि ‘फूलबारी भित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ गरी दुई कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा ४२ वटा कविता सङ्ग्रहित छन् ।

यसमा तपाइको मत

अन्य समाचार