काठमाडौं,
भदौ २६ ।
संसार क्रियशनको आयोजना र संसार अनलाइन टिभीको प्रस्तुतिमा सञ्चालन गरिएको संसार अनलाइन सिङगीङ स्टार अवार्ड प्राप्ती तामाङ र अश्विन प्रधानले चुम्नुभएको छ । शनिबार भएको अन्तिम प्रतिष्पर्धामा १६ वर्षमुनिको तर्फबाट गायनमा काभ्रेकी प्राप्ती तामाङ प्रथम हुनुभएको छ । त्यस्तै काठमाडौंकी रितु श्रेष्ठ द्धितीय र भक्तपुरकी झरना खनाल तृतीय हुनुभएको छ । प्रथम, द्धितीय र तृतीयले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नुभउको छ। ।
त्यस्तै खुल्लातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुरका अमोघा वीर वज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो हुनुभएको छ । खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार, र १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नुभएको छ । निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।
गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतिको लागि ट्रफी प्रदान गरिएको थियो । बाहिरी देशमा बस्ने १९ देशका नेपालीले पनि प्रतिष्पर्धामा भाग लिएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बालबालिकाको क्षमता विस्तार गर्ने यस प्रकारका कार्यक्रमले प्रतियोगीमा उत्साह प्रदान गर्ने बताउनुभयो । गत वर्षबाट सुरु भएको कोरोनाका कारण मानिसको जनजीवन अस्तव्यस्त भएको बेला भएको यस किसिमको प्रतिष्पर्धाले मानिसमा निराशा कम गर्ने पनि उहाँले जनाउनुभयो । उहाँले गीत, सङ्गीत र कलाको आफू पारखी भए पनि यसबारे आफू पोख्त नभएको स्पष्ट पार्नुभयो ।
संसार अनलाइन टिभीका अध्यक्ष स्वतन्त्र महर्जनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरिने बताउनुभयो । उहाँले कोरोना संक्रमणकालमा मानिसमा छाएको अन्यौलता र दिक्दारीलाई थोरै भए पनि कम गर्न पनि कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभएको थियो ।






