पेशल आचार्य
रामेछाप, मन्थली
भदौ २५ ।
धपेडीमाझ
आफूलाई हेर्न नभ्याएका बेला
जब ऐना अगाडि
टक्क उभिएर
मानिस आफूले
आफूलाई हेर्छ
अनि बिस्तारै
देख्दै जान्छ
उसले विगतमा गरेका
तमाम गल्तीहरू
ऐनालाई साक्षी राखेर
आफ्नै आँखामा झल्झली
जस्तोकी क्याम्पस जीवनमा
चिट चोरेर पास गरेको
कम्पलसरी इङ्लिस्
पाँच रूपैयाँ बँचाउनकै लागि
सिनेमाहलमा टिकट काट्दा
स्थानीय दादाहरूसँग
भएका छिना झप्टीहरू
प्रेमिकालाई फस्ट डे फस्ट सो
हिन्दी सुपर हिट सिनेमा देखाइएका
रुनुझुनु सम्झनाहरू
शनिबार शनिबार
गोठालो जाँदा
सामान्य ज्ञानका ठेलीमा
आँखाका गेडा झर्नेगरी पढेका कुरा
साथीहरूसँग मिलेर
धनकुटा लोकसेवा दिनगएका
स्वर्णीम् ती दिनहरू
जसमाआफू फेल भएर
साथीहरू पास हुँदा
मनमा उब्जेका खिन्नान्भूतिहरू,
हिँडेर नदेखिने यस्तै-यस्तै
पउल पहेलीहरू
टक्क अडिएर
मानिसले सम्झने रहेछन्
आज भन्दा भोलि भन्दा
जीवन बित्दै जाने रहेछ फगत्
पुरानो पटरीमा हिँडेको
धूँवा फेँकेर कराएको
कुनै छुकछुके रेलजस्तो
छुकछुक, पियाँ………याँयाँयाँया……
जीवनलाई बुझ्न
ऐनाहोस् या नहोस्
कहिले काहीँ आफैँ पनि
टक्क अडिएर
सोच्नु
नियाल्नु
र पर्गेल्नु पर्ने रहेछ
जसले जीवनभलिभाँतीबुझ्न
अझहामीलाई सजिलो पारिदिने रहेछ,
सम्झनाका स्टेसनहरूमा
अचेल म आफैँ पनि
केही नहुँदा आगे पिछे
टक्क अडिन्छु
र चारै तिरको परिवेशमा
आफूलाई नियाल्छु,
कति आएँ
अब कति गएपछि
मेरो गन्तव्य भेटिन्छ होला है ???






