काठमाडौं,
साउन ३२ ।
सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गर्नुभएको हो । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र पढेर सुनाउनु भएको थियो ।
यही साउन ३ गते प्रारम्भ भएको अधिवेशनमा २९ दिन चल्यो । हालसम्म १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो । त्यसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश, २०७८ र कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ लगायत प्रस्तुत भए ।
प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन् । यही साउन ३ गते दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभएको थियो ।






