काठमाडौं,
साउन २६ ।
गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट भएको छ । भेटमा अध्यक्ष पन्तले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । अध्यक्ष पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो ।
यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरूको उद्धार, नेपाल ल्याइएका श्रमिकहरूको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउनसमेत अध्यक्ष पन्तले आग्रह गर्नुभएको थियो । सोअवसरमा संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरूको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो अवसरमा संघका उपाध्यक्ष द्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिती थियो ।






