काठमाडौं,
साउन २३ ।
शनिबार थप तीन हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको आठ हजार ८६६ पिसिआर र चार हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा तीन हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या सात लाख १२ हजार ७४० पुगेको छ । कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो समयसम्म ३२ हजार २७ जना होम आइसोलेसन र तीन हजार ४०५ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै देशका विभिन्न अस्पतालमा ७४६ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै शनिबार एक हजार ७२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।
शनिबार काठमाडौं उपत्यकामा ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५९३ जना, भक्तपुरमा १२८ जना र ललितपुरमा १८९ जना कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार उपत्यकामा ७०१ जना संक्रमित थपिएका थिए भने बिहीबार एक हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणबाट शनिबार थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।






