वीरको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनी नियुक्त

काठमाडौं,
साउन १८ ।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनी नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरका अर्थोपेडिक डा. मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो । प्रा. डा. जागेश्वर गौतमलाई थापाथलिस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा सरुवा गर्दै उहाँको ठाउँमा डा. मरासिनीलाई नियुक्त गरिएको हो ।

सबै कोभिड-१९ अस्पतालहरूको नियमनदेखि बिरामीको उपचार व्यवस्थापनसम्म जिम्मेवारी केन्द्रीय अस्पतालको छ । यस्तै, अस्पतालले प्रयोगशालादेखि खरिदसम्मका महत्वपूर्ण काम गर्ने अधिकार पनि केन्द्रीय अस्पतालले पाएको छ । जसका कारण युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको नियुक्तिलाई महत्वका साथ हेरिएको छ ।

मरासिनी चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टसमेत हुनुभएको थियो । उहाँले भरतपुर अस्पतालमा रहदा अस्पतालको सुधार गरेको भन्दै सम्मानित हुनुभएको थियो ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेनुभएका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो । त्यसअघि गौतम प्रसुती अस्पतालमै कार्यरत हुनुहुन्थ्यो ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उहाँको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार