काठमाडौं,
साउन १५ ।
राजेशपायल राईको स्वरमा रहेको गीत ‘फर्कन छोरा’ सार्वजनिक भएको छ । केशव शर्मा दाहालको शब्द तथा सङ्गीत र चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको भिडियोमा कमलमणि नेपाल र सरिता गिरिले मुख्य भूमिकामा अभिनय गर्नुएको छ । उहाँहरूसँगै भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा विविध कारणले विदेशिएका युवाहरूको घरमा एक्लिएका बाबु–आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ । भिडियो केशव एस. दाहाल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्लेलगायतका स्थानहरूमा गरिएको हो ।
दाहालले आफ्नै स्वरमा यस अघि ‘चौतारीमा बसौं न पियारी’, ‘वैशैमा लाको पिरती’, लगायतका गीतहरू सार्बजनिक गरिसक्नु भएको छ । केही दिनअघि मात्र भानु जयन्तीको अवसर पारेर उहाँको ‘भानु तिम्रो रामायणले’ बोलको भजन सार्वजनिक भएको थियो ।






