काठमाडौं,
साउन १५ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान, नायक भुवन केसी, निर्देशक उदय सुब्बालगायतको टिमले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । भेटमा कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई सहजीकरण गर्नका लागि मौद्रिक नीतिमा तीन वर्षपछिबाट साँवा ब्याज बुझाउनेगरी सात वर्षका लागि सुलभ कर्जा प्रवाह गर्नुका साथै २०७७ को मौद्रिक नीतिमा झैं यसवर्ष चलचित्र उद्योगलाई अति प्रभावित क्षेत्रमा राख्न दुई संघले माग गरिएको छ ।
दुईवटा संघले अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा चलचित्र निर्माण गर्न चाहने व्यक्तिलाई बैंकिङ कर्जाको व्यवस्था गर्न, २०७७ को वैशाखदेखि ठप्प रहेको चलचित्र क्षेत्र पुनः सुचारु हुने मितिसम्मका लागि व्याज छुटको व्यवस्था गर्न, पाँच सय डलरसम्मको डेविड भिसा कार्डलाई दुई हजार डलरसम्म पुर्याउनलगायत बुँदा उल्लेख छन् ।
तीन वर्षसम्मका लागि चलचित्र घरको विद्युत् महसुल डिमान्ड मिनाहा, दूतावासमार्फत विदेशी भूमिमा चलचित्र महोत्सव आयोजना गर्न बजेट विनियोजन, सुविधा सम्पन्न आउटोडर सुटिङ स्टुडियो निर्माणको कार्यान्वयन, श्रमजीवी चलचित्रकर्मीले प्राप्त गर्ने पारिश्रमिकमा काटिँदै आएको कर आगामी दुई वर्ष छुट गर्न आग्रह गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
त्यस्तै, निर्माता संघले २०७८/०७९ को बजेटमा सम्बोधन भएको विषयलाई कार्यान्वयन गर्न र बजेटमा छुटेका विषयलाई पुनर्विचार गर्न ध्यानकर्षण गराएको छ । २०७७ को मौद्रिक नीतिले चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचीकृत गरे पनि कुनै किसिमको सहुलियत कर्जा उपभोग गर्न नपाएकाले अर्थ मन्त्रालयबाट चलचित्र उद्योगलाई अति प्रभावित उद्योगमा राख्न संघको माग छ ।






