काठमाडौं,
असार ९ ।
आज गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरुपूर्णिमाका अवसरमा शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । यस वर्ष कोरोना कहरका कारण गुरुपूर्णिमाका अवसरमा कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ ।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिनुभएको थियो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ ।






