कविता : पहराको फूल

✍️ पेशल आचार्य
काठमाडौं,
असार ४ ।

कसैले नदेखे पनि
फूलेकी छु
कसैले नछोए पनि
खिल्खिलाएकी छु
मस्त छु
व्यस्त छु
आफैँ तालमा
आफ्नै हालमा,

छाँगाबाट दिनरात
झरेको पानीले
चिसिएकी छु
गुफाबाट आएको
पवित्र हावाले
ताजा भएकी छु
राम्री छु वा नराम्री छु
तर म आफ्नै परीधानमा मख्ख छु
म पहराको फूल हूँ,

मलाई टिप्ने कोसिस नगर
मलाई झार्ने प्रयत्न पनि नगर
म आफैँमा बैँस फुकाएर फुल्छु
म आफैँमा जीवन लर्काएर फुल्छु
कसैले गीत बनाए पनि फुल्छु
कसैले प्रित नबनाए पनि फुल्छु
जबजब म भित्रबाट
केही भरिएर आउँछु
अनि चौतर्फी सुवाष छर्दै
म फुल्छु
म भविष्यमा पनि यसैगरी
फुलिरहन्छु ।।

यसमा तपाइको मत

अन्य समाचार