कविता : अर्को कविता

✍️ नवीन मनोहर
काठमाडौं,
असार ३० ।

यो कवित त्यो होइन
त्यो कविता अर्कै थियो
यो कविता त्यससँग मिल्दैन
जसको भाव अर्कै थियो
अर्को कवितामा
केटा केटीहरूका भावनाको कदर गरिन्थ्यो
युवा युवतीका जोशको हेक्का राखिन्थ्यो
प्रौढ र जेष्ठ नागरिकलाई सम्मान गरिन्थ्यो
निछरो र कञ्चन भावको थियो
त्यो अर्को कविता,

समुद्र भन्दा फराकिलो थियो
नदी भन्दा गहिरो थियो
हिउँ भन्दा पनि चिसो
र आगो भन्दा पनि तातो थियो
खराब मानिसहरू
त्यो अर्को कविता पढ्नै डराउँथे
त्यो अर्को कविता सुन्ने थुरथुर काँप्थे
भन्नु त उसो होइन
त्यो अर्को कविताका अघि
समालोचक पनि कट्टु मुत्थे,

यो कविता लेख्न त्यति जटिल छैन
तर अर्को कविता लेख्न धेरै गाह्रो भएको थियो
यो कविता छाप्न त्यति माथा पच्ची गर्नु पर्दैन
त्यो अर्को कविता छाप्न धेरै डिबिया तेल जलेको थियो
यो कविताका पाठकहरू धेरै छैनन्
त्यो अर्को कविताका पाठकहरू धेरै थिए
फ्यान धेरै थिए,

पाठक महोदय !
दुःखका साथ भन्नु पर्छ
त्यो मेरो अर्को कविता
कता हरायो कता?
त्यसैले त्यसको तुस यसैबाट मेट्नुहोस्
र जो जे भए पनि काम चलाउनुहोस् ल ?!

यसमा तपाइको मत

अन्य समाचार