काठमाडौं
असार २८ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहको जनाएको छ । महाशाखाले मौसम बुलेटिन जारी गर्दै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । यस्तै प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
त्यस्तै आज राति पनि प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । हाल प्रदेश १,वाग्मती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ घर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।






