काठमाडौं,
असार २७ ।
नेपाल चलचित्र कलाकार संघले कलाकारद्वारा सञ्चालित सिन्धु सहायता कोषका संयोजक कृष्ण मल्ललाई नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार आयोजित एक समारोहमा संघका अध्यक्ष रवीन्द्र खडका तथा कोषाध्यक्ष सुनिल कटुवालले चेकमार्फत उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
सहायता कोष गठन गरिएको भेलामा संघको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गरिएको थियो । यसैगरी नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले संघको चलचित्र कलाकार कल्याणकारी कोषमा जम्मा हुने गरी नगद बीस हजार रुपैयाँ अध्यक्ष रबीनद्र खडका तथा कोषाध्यक्ष सुनिल कटुवाललाई प्रदान गर्नुभयो ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, सचिव पनाह अधिकारी, कार्यकारिणी सदस्य उद्धव भट्टराई, रामेश्वर केसी, राजेश महर्जन सहभागी हुनुहुन्थ्यो ।
सहायता रकम हस्तान्तरणपछि सिन्धु सहायता कोषका संयोजक कृष्ण मल्लले सिन्धुपाल्चोकका बाढीपहिरो पिडित दाजु भाई दिदीबहिनीहरूमाथि सद्भाव र सदाशयता राखी संघले सहयोग रकम प्रदान गरेकोमा सहायता कोषको तर्फबाट धन्यबाद दिनुभयो ।
यसैगरी संघका अध्यक्ष रवीन्द्र खडकाले कलाकारहरूको सहयताका लागि स्थापना भएको कल्यणकारी कोषको अभिबृद्धीका लागि फिल्म सोसाईटीको तर्फबाट बिशिष्ट चलचित्रकर्मी कृष्ण मल्लले प्रदान गर्नु भएको सहयोगका लागि आभार प्रकट गर्नुका साथै कल्याणकारी कोषलाई सहयोग गरिदिनु हुन स्वदेश तथा विदेशमा रहनु भएका कलाकार तथा मनकारी दाताहरूमा हार्दिक अपिल पनि गर्नुभयो संघका उपाध्यक्ष तथा प्रपक्ता मोहन निरौलाद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।






