काठमाडौं,
असार २४ ।
कोभिडले विश्व आक्रान्त बनेका बेला नेपालमा आमाको चिन्ताको कुनै सीमा हुँदैन, छोराले सुरक्षित छु भन्दै आमालाई आश्वस्त बनाउँछन् । छोरालाई पनि चिन्ता छ-कतै नेपालमा आमा र परिवारलाई कोभिड संक्रमण हुने त होइन ? घरघरको चिन्ता, घरघरको कथा अनि घरघरको यस्तो व्यथालाई सर्लक्कै चलचित्रमा उतार्नु भएको छ किर्तना बान्सकोटाले ।
छोराछोरी विदेशमा, बाआमा नेपालमा, कोभिड महामारीबीच नेपाली समाजमा चिन्ताको महामारी फैलियो । चिन्ताको त्यो महामारीलाई ‘घर आउ’ मा जीवन्त बनाएर उतार्नुभएको छ । कलाकारहरूले ‘घर आउ’ चलचित्र टोली अहिले दंग छ । किनभने विश्वका चर्चित फिल्म फेस्टिभलमा ‘घर आउ’ चयन भएको छ । चलचित्रमा आमाको भूमिकामा उमादेवी विश्वकर्मा हुनुहुन्छ भने छोराको भूमिका सौरमराज तुलाधरले निभाउनु भएको छ ।
अमेरिका पढ्न गएका सौरमराजको पढाइ रोकिन्छ, लकडाउनमा कैद हुन्छन् । यता आमा व्यग्र हुन्छिन् । अहिले पढाइ छैन, त्यसैले खुरुक्क घरआउनु भनेर आमाले कडा आदेश दिन्छिन् । आमाको आदेश जति कडा हुन्छ, माया उति धेरै हुन्छ । यो भावलाई सफलतासाथ उतार्नु निर्देशक किर्तना बान्सकोटाको असामान्य सफलता हो । अनुभवहीन उमादेवीलाई बान्सकोटा फिल्मस्ले आमाको भूमिकामा प्रस्तुत गरेको छ । तर, उहाँले खारिएको र जीवन्त अभिनय गर्नुभएको छ । सार्थक चलचित्र निर्माणमा रुचि राख्ने किर्तनाको यो पहिलो फिल्म होइन ।
‘स्नेही काख’ वृत्तचित्र बनाएर चलचित्र निर्देशनमा किर्तनाले आफूलाई अब्बल सावित गरिसक्नु भएको छ । ‘घर आउ’ले उहाको निर्देशकीय क्षमता, गहिरो दृष्टिकोण र कलात्मक शैलीलाई अझ प्रखर रुपमा उजागर गरेको छ । अमेरिकामा बसेर चलचित्र बनाउनु सजिलो छैन । झन्, सर्ट मुभी अर्थात् छोटो फिल्म बनाउन अत्यन्त चुनौतीपूर्ण हुन्छ । अस्टिन लिफ्ट अप फिल्म फेस्टिभलमा ‘घर आउ’ ले अडियन्स च्वाइस अवार्ड हात पारिसकेको छ । ‘घर आउ’ भ्यान्कुभर इण्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा छनौट भएको छ ।
त्यसैगरी न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल, टोकियो लिफ्ट अफ फिल्म फेस्टिभलमा छनौट भएको छ । त्यसैगरी टर्कीमा हुने फिल्म फेस्टिभलमा छनौट भइसकेको छ । आगामी दिनमा ‘घर आउ’ टोली फिल्म फेस्टिभलहरूमा प्रदर्शनमा व्यस्त हुनेछ ।






