✍️ पेशल आचार्य
काठमाडौं,
असार २४ ।
गर्छु भन्दाभन्दै
सक्छु भन्दा भन्दै
एउटा रहर सकिन्छ
एउटा अठोट नासिन्छ
नौका जीवनको
हरेक पल ढलपल ढलपल
गर्दागर्दै सिद्दिन्छ
वा नाटकको अभिनयका लागि
प्रत्येक क्षण मानिस
गरिरहेको हुन्छ अभिनय,
सूत्रधारले
निर्देशकले
वा दर्शकको दबावले
एउटा मानिसले कसोकसो गरी
सकी नसकी
गरिरहेको हुन्छ
अभिनयका लागि
रिहर्षक,
नाटकै त हो
कहिले सुखान्तक
कहिले दुखान्तक
कहिले समस्यामा पुगेर सकिने
वा कहिले सस्पेन्स हुनै पर्ने
दर्शक दीर्घाबाट
निरन्तर हुटिङ् व्याप्त छ
कोलाहल चलिरहेको छ
पूराका पूर नाटक
रसिक हुनुपर्यो
सबका सब नाटक
रोचक हुनुपर्यो,
पात्रहरू त्यसैका लागि
गर या मर
रोजी रोटी पकाऊ
तर निर्वाह गर्नै पर्छ आदेश
हुकुमका बादशाह हरूका अघि
रिहर्षल गर
अनि नाटक मञ्चन गर ।।






