कविता : सम्बन्ध

✍️ पेशल आचार्य
काठमाडौं,
असार २० ।

सम्झिरहे सम्बन्ध
बैँकको भुक्तानीहुने चेक हो
बिर्सिदिए सम्बन्ध
बैँककै बाउन्सर हुने चेक हो
छायाँ र काया
टाढा भएपनि
मनमा माया गाढा भएपछि
सम्बन्ध शनैःशनैः बाक्लो हुन थाल्छ
सम्बन्ध क्रमशः घनिभूत लाग्न थाल्छ,

हिजो आज मानिसहरू
पेसा, पैसा र सफलतामा सम्बन्ध गाँस्न आतुरिन्छन्
हिजो आज मानिसहरू
बोक्रे आवरणमा मात्र रमाउँछन्
किन किन
आजकाल
सम्बन्धनि सम्बन्ध जस्तो छैन
अपनत्वनि अपनत्व जस्तो छैन,

अचेल
सम्बन्धका दूर्गहरूमा धमिरा लाग्न थालेका छन्
अचेल
अपनत्वका देवलहरूमा लेउ लाग्न थालेका छन्
हार्दिकता
शुभेच्छा
र शुभकामना
सबैसबै औपचारिकतामा सिमित भएरै होला
सम्बन्ध
निर्जन टापुको एक्लो यात्री भएको छ
जो मानिस सँग
सम्बन्ध गाँस्न आतुर छ ।।

यसमा तपाइको मत

अन्य समाचार