भुवन चैत्य बसुन्धरा फाउण्डेसनका तीन पुरस्कारको राशी सिन्धु सहायता कोष र चलचित्रकर्मी बिपद व्यवस्थापनलाई प्रदान

काठमाडौं,
असार १९ ।

भुवन चैत्य बसुन्धरा फाउण्डेसनले बि.सं.२०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार तथा चैत्यदेवी पुरस्कारको राशी कलाकारहरुद्वारा सञ्चालित सिन्धु सहायता कोष तथा चलचित्र विकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई प्रदान गर्ने निर्णय गरेको छ ।

‘कोभिडको दोस्रो भेरियन्टकासाथै निषेधाज्ञा तथा बाढीपहिरोले जनजीवनमा पुर्‍याएको क्षतिलाई मध्य नजर गर्दै यो स्रष्टा सर्जकलाई प्रदान नगरी दुई वटा कोषलाई हस्तान्तरण गर्न लागिएको हो’, फाउण्डेसनका सचिव मोहन निरौलाद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

फाउण्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा असार १७ गते बसेको बैठकले एक लाख दुई हजार रुपैयाँ सिन्धु सहायता कोषलाई तथा ५१ हजार रुपैयाँ चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरिएको थियो ।

चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई क्रियाशिल बनाउनु पर्ने मान्यता राखि यसअघि नै नेपाल चलचित्र कलाकार संघले पचपन्न हजार रूपैयाँ प्रदान गरिसकेको पनि विज्ञप्तीमा उल्लेख छ । जसअनुसार शुक्रवार सिन्धु सहायता कोषका संयोजक कृष्ण मल्ललाई एक लाख दुई हजार रूपैयाँ हस्तान्तरण गरिएको छ ।

उक्त अवसरमा सिन्धु सहायता कोषका सहसंयोजक करिष्मा मानन्धर, सदस्य सचिव कृष्ण ढुंगाना, सदस्य जीतु नेपाल, चेतन सापकोटा, शिवहरी वैरागी तथा फाउण्डेसनका पदाधिकारीको उपस्थिती थियो ।

चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई प्रदा गरिने ५१ हजार रुपैयाँ नगद चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाललाई हस्तान्तरण गरिने छ ।

यसअघि स्थापना वर्षको पुरस्कार चलचित्र विकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एक लाख ५३ हजार रूपैयाँ अर्पण गरिएको थियो भने गत वर्षको पुरस्कार चलचित्रकर्मी शकुन्तला शर्मा, नृत्य निर्देशक भैरबबहादुर थापा तथा चलचित्रकर्मी मह जोडीलाई अर्पण गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार