अस्कार अवार्ड जित्ने नेपाली फिल्मले आठ लाख पाउने

काठमाडौं,
असार १८ ।

विश्वको प्रतिष्ठित अस्कार अवार्ड जित्ने नेपाली फिल्मलाई सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले प्रोत्साहनस्वरूप आठ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बिहीबार बोर्डले २१औं वार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको जानकारी दिँदै अस्कारमा छनोट भए दुई लाख र नोमिनेसन वा अवार्ड नै जिते आठ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम जस्ता फेस्टिभलमा छनोट हुने फिचर फिल्मले दुई लाख ५० हजार र छोटो फिल्मले एक लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ । यस्तै, गोल्डेन ग्लोब अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन फिल्म अवार्डमा छनोट भएर स्क्रिनिङ भए एक लाख र विजेता बने दुई लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म पाउनेछन् ।

‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’ जस्ता विश्वका प्रतिष्ठित ल्याबमा जाने फिल्मलाई तीन लाखदेखि ५० हजारसम्म ‘ट्राभल ग्रान्ट’ उपलब्ध गराउनुका साथै फिल्मकर्मीलाई बसोबास तथा नेटवर्किङका लागि दुई लाखदेखि २५ हजार रुपैयाँसम्म प्रदान गरिने बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट कार्यविधि पास भएसँगै ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको हो ।

आर्थिक वर्ष ०७८/७९ को बजेटमा सरकारले स्टोरी बैंकको अवधारणलाई अगाडि बढाउने निर्णय गरेको थियो । जसका लागि बोर्डले चाँडै स्क्रिप्ट आह्वान गर्ने तयारी थालेको छ । यसरी आएका स्क्रिप्टमध्ये तीन स्क्रिप्टलाई नगद सहयोग गरिने बोर्ड अध्यक्ष दाहालले बताउनुभयो । उहाँले काभ्रेको साँगामा बन्न लागेको फिल्म स्टुडियो पनि चाँडै टेन्डरको प्रक्रियामा जान लागेको जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार