काठमाडौं,
असार १२ ।
नेपाल चलचित्र कलाकार संघले चलचित्र कलाकार कल्याणकारी कोषलाई थप क्रियाशिल बनाउने भएको छ । संघको हालै बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताउनुभयो ।
सदस्य कलाकारहरूलाई बिरामी लगायत बिपद, अप्ठ्यारो पर्दा संघले सहयोग गर्नु पर्छ भन्ने अवधारणा नेपाल चलचित्र कलाकार संघका तत्कालिन अध्यक्ष नवल खड्काको कार्यकालमा तयार गरिएको थियो । त्यसपछि दिवंगत रामकेशर बोगटी अध्यक्ष भएको कार्यकालमा संघका अध्यक्ष स्व. बोगटी, संघका तत्कालिन सचिव चेतबहादुर सिंह ‘राजा’ र संघका तत्कालिन सह कोषाध्यक्ष सुनील कटुवालको सक्रियतामा चार वर्षअघि सदस्य कलाकारलाई बिपद,गम्भीर बिरामी लगायतका समस्यामा सहयोग गर्ने उदेश्यले कोषलाई थप क्रियाशिल बनाईएको थियो । कोषबाट हाल पनि सदस्य कलाकारहरूलाई सहयोग गरिदै आएकोछ ।
संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला तथा कोषाध्यक्ष सुनिल कटुवालद्वारा जारी विज्ञप्तमिा हाल कोभिडका कारण निषेधाज्ञा तथा विभिन्न बिपदको कलाकारहरूले पनि सामना गर्नु परिरहेको तथ्यलाई मध्यनजर गर्दै संघका अध्यक्ष रबीन्द्र खडकाको निर्देशन अनुसार कोषलाई थप मजबुत र क्रियाशिल बनाउन लागिएको हो । विज्ञप्तीमा यो महाअभियानमा संघको कार्यसमितिका पदाधिकारी तथा कार्यकारिणी सदस्यबाट रकम थप गरिएको जानकारी गराइएको छ ।
जस अनुसार तेजुला खतिवडाले ५१ हजार, गीता नेपालले २५ हजार १२५, चेतबहादुर सिंह राजाले दश हजार, सुनिल कटुवालले दश हजार, पवन खतिवडाले पाँच हजार ५५५, रवीन्द्र खड्काले पाँच हजार १००, उद्धबप्रसाद भट्टराईले पाँच हजार १००, मोहन निरौलाले पाँच हजार, जीवन थापाले पाँच हजार, धनीराम मुस्कान केसीले पाँच हजार, राजेश महर्जनले पाँच हजार, रामेश्वरजंग केसीले तीन हजार, पवित्रा आचार्यले दुई हजार, रामेश्वर बुर्लाकोटीले दुई हजार, गोपाल ढकालले दुई हजार, शितल केसीले दुई हजार रूपैयाँगरी जम्मा एक लाख ४२ हजार ८८० रूपैयाँ थप भएको छ ।
कोषमा रकम प्रदानगरी सहयोग गर्नका लागि स्वदेश तथा विदेशमा रहनु भएका कलाकार तथा मनकारी दाताहरूलाई अपील गर्ने पनि कार्यसमितिको बैठकले निर्णय गरेको छ । संघले निषेधाज्ञाको अवधिमा अप्ठ्यारो अवस्था एवम् समस्यामा परेका कलाकारहरूलाई राहत सहयोग प्रदान गरेको थियो ।
संघले यसअघि चलचित्र विकाश बोर्ड अन्तर्गत गठन भएको चलचित्रकर्मी बिपद व्यवस्स्थापन कोषलाई क्रियाशिल बनाउन पदाधिकारी तथा कार्यसमितिका सदस्यबाट रकम उठाई सहयोग रकम प्रदान गरिएको थियो ।
रवीन्द्र खडकाको नेतृत्वको कार्यसमितिले संघको कार्यभार सम्हालेपछि संघले गरेको नगद सहयोगका लागि कोही कसैसँग चन्दा नलिएको र संघको मौजुदा रकमबाट खर्च नगरी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट रकम उठाई नगद सहयोग गरिएको पनि सबैलाई जानकारी गराएको छ ।
यसैगरी कलाकारद्वारा सञ्चालित सिन्धु सहायता कोषमा संघको नामबाट घोषणा भएको एकाउन्न हजार रकम पनि संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूबाट उठाएर प्रदान गर्ने पनि जानकारी गराइएको छ ।






