युवा पिँढीमा राजनीतिप्रति वितृष्णा

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
जेठ २९ ।

एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केही दिन नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्यायो । यो तरङ्ग अझै सेलाएको छैन । खासगरी २०७५ जेठ ३ भन्दा पहिलाको स्थितिमा पार्टीलाई पुर्‍याउनुपर्ने माधव नेपाल–झलनाथ खनाल पक्षको माग हो । अन्ततः यही आह्वानमार्फत अध्यक्ष ओलीले स्वीकारेका छन् । अब माधव पक्ष एकताका लागी गम्भिर हुने हो भने गाँठो फुकेको छ । पटक पटक भएका परिवर्तन पछि कुनै पनि सरकार पूरा कार्यकाल टिक्न सकेनन् ।

संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो । पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो । त्यसबाट झन्डै दुईतिहाई बहुमतको सरकार बन्यो। पाँच वर्ष मुलुकले स्थिरता पाउँछ भन्नेमा आम नागरिक विश्वस्त थिए । तर, आन्तरिक र बाह्य चलखेलबाट स्थिरताको सपना पुरा हुन सकेन । पार्टीभित्रै विविध चलखेल भए । पार्टी फुटाएर, फ्लोर क्रस गरेर वा अर्को दललाई साथ दिएर सरकार ढाल्ने खेल भयो । नेपालले अहिले त्यही स्थिति सामना गरिरहेको छ । सत्ता परिवर्तनको पछिल्लो गतिविविधिले स्थिरतामा धक्का दिएको छ । जसपाको एउटा खेमा सरकारमा गएको छ ।

अर्को खेमा सरकार हत्याउन भिडेर लागेको छ । दुई खेमाबीच कारबाहीको हानाथाप छ । जसपा पनि फुटको नजिक छ । संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म भनेको दलहरु बलियो हुनु हो । तर, दलहरू कमजोर हुदै गएका छन् । दलहरूको मजबुतीमा गणतन्त्रको भविष्य निर्धारित छ । यिनीहरू कमजोर, तितरबितर र लोभीपापी भए भने प्रतिगामी शक्तिले टाउको उठाउने मौका पाउँछ । त्यसका लागि पनि दलहरू फुटेर होइन, जुटेर अघि बढनुपर्छ । वर्तमानमा चर्किएका एमाले र जसपा दुवैले फुटबाट आफूलाई जोगाउनुपर्छ । पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा नकारात्मक परिदृश्यहरू देखिन थालेका छन् ।

नेताहरू आज आफैँ कुहिरो भित्रको काग जस्तै भएका छन् । धेरै नेताको बोलाइ र गराइमा फिटिक्कै तालमेल मिलेको देखिँदैन । एकथोक बोल्ने र अर्को थोक गर्ने गर्छन । जसले गर्दा आजका युवा पिँढीमा राजनीतिप्रति वितृष्णा हुँदै गएको देखिन्छ । पटक पटक नागरिकलाई ढाँट्ने, बोलेका कुरा कहिल्यै पुरा नगर्ने दल र तिनका नेताहरूको बानि नै हो । उनीहरू सुध्रिन जरुरी छ । भूगोलभूगोलबिच द्वन्द्व सिर्जना गर्ने तराई र पहाडमा बसेका नागरिकबिच फाटो ल्याउने र भिडाउने काम दलहरुले गरेका छन् ।

यो जनतालाई मन परेको छैन । चुनावका बेलामा राजनीतिक दल र तिनका नेताहरूले सिधासादा नागरिकलाई विभिन्न सपना देखाएर देशलाई कहिले अमेरिका, कहिले सिंगापुर त कहिले स्विटजरल्यान्ड बनाउँछौँ भन्दै झुक्याउँदै पनि आए । यिनीहरूको लहलहैमा लागेका हजारौंहजार युवाहरुको सपना आज चकनाचुर भएको छ । मुलुकको परिवर्तनका लागि कयौं बेपत्ता भए, कयौंको अङ्गभङ्ग भयो, कति हताहत भए । धेरै चेलीहरूको सिन्दुर पुछियो, विधवा भए, बालबालिका अभिभावक विहीन भए । यति हुँदा पनि यिनीहरूलाई पश्चाताप छैन । जनताले लडेर ल्याएको परिवर्तनलाई नेताहरुले मनपरी गरिरहेका छन् । पटक-पटक सत्तामा गएर सिन्को नभाँच्ने सधैं अस्थिरताको खेती मात्र गर्ने यिनीहरूको के काम । अहिलेको एक्काइसौं शताब्दीमा नागरिकले यिनीहरूको चर्तिकला नबुझ्ने कुरै भएन ।

जनताले चुनावमा सजाय अबश्य दिने छन । नेपालको राजनीति यति विकृत भयो कि भनि साध्य छैन । प्रजातन्त्र, बहुदल, लोकतन्त्र गणतन्त्र जे भने पनि जनताका दुःख ज्युँकात्युँ छन् । नेकपा एमाले र नेकपा माओवादी एकताले नेपाली जनतामा केही आशा पलाएको थियो । त्यो खुशी धेरै समयसम्म टिक्न सकेन । एमाले र माओवादी एकता पछि नेपाली जनताले स्थायित्वका लागि भनेर लगभग दुई तिहाइ भोट दिएर जिताएका थिए । हाम्रा नेता देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थका लागि मात्र लालायित भए । पाएका अवसर भागबन्डा लगाउँदै आफ्ना नालनाता छोरीज्वाइँ भान्जाभन्जी छोरा बुहारी काका काकी र आफ्नो वरिपरिका आसे पासे,चाकडी र चाप्लुसी गर्नेहरूलाई मात्र पोस्न थाले । जसले गर्दा देश अघि बढन सकेन ।

यसमा तपाइको मत

अन्य समाचार