काठमाडौं,
जेठ २९ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । शुक्रबार बिहान नेपालको पूर्वी भेगहुँदै मनसुन भित्रिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशको पूर्वी र मध्यभूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भने ‘भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो क्रम आइतबारसम्म कायम रहने भएकाले सतर्क रहन महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
‘देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।






