✍️ युवराज घलेभाइ
गान्तोक, सिक्किम
जेठ २० ।
त्यसपछि,
जीवनको कठघरामा छु
किन–किन
हरेक मान्छेका आँखामा
प्रश्न मात्र पढिरहन्छु ।
रङहरूले पनि टोक्छन्
कहिले ओंठ
कहिले निधार
किन टोक्छन् कहिले सर्वाङ्ग ?
हेर्छु
हेर्न मात्र सक्छु मान्छेलाई
काँतर भएछ मन
भन्न सक्दिनँ
बोल्न पनि सक्दिनँ ।।
खै किन उभ्याउँछन् अरुले
विशिष्ट घेरामा ?
र पढिरहन्छन् मलाई
चुपचाप छन् तर सोध्छन् हरदम
दयामा पनि घोच्छन् हरदम ।
उसैको नाम छ
ऊ छैन, तैपनि उसैको आड छ ।
ए वैधव्य ! तँ आफैँँ बताइदे
को मर्यो ?
ऊ, कि म ?






