काठमाडौं,
जेठ १७ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षा भएको जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको हो । सोही प्रभावले प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले विहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली देशैभर मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ ।
यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बुधबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।






