एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

काठमाडौं,
जेठ १६ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको सङ्क्रमण कम नभएकाले वैकल्पिक विधिमार्फत परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्दै परीक्षा कसरी गर्ने भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले अवस्था जटिल नै रहेकाले भौतिक उपस्थिति नगराइकन नै वैकल्पिक विधिमार्फत परीक्षा लिन सुझावसहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाएको हो ।

अब शिक्षा मन्त्रालयले यसबारे थप छलफल गरी निर्णय गराउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने छ । त्यसपछि मात्रै परीक्षा कसरी गर्ने भन्नेबारे टुङ्गो लाग्नेछ ।

कोरोना संक्रमणको जोखिम बढेदै गएपछि बार्डले गत वैशाख २७ गते १२ कक्षा र एसईई परीक्षाको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो । बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसइई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

पाँच लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् । भौतिक उपस्थितिमा देशभरका दुई हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो । कक्षा १२ मा करिब चार लाख विद्यार्थी छन् ।

यसमा तपाइको मत

अन्य समाचार