काठमाडौं,
जेठ १६ ।
गायिका लासिमित राईको निधन भएको छ । थुप्रै चलचित्र तथा आधुनिक गीतमा स्वर दिनुभएकी गायिका राईको कोरोना संक्रमणका कारण निधन भएको हो । कोरोना संक्रमण भएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी ५३ वर्षीया राईको शुक्रबार निधन भएको हो । शुक्रबार नै नेपाली सेनाको टोलीबाट उनको अन्त्येष्टि गरिएको जनाईएको छ ।
भारतको राङ्गु जल्पाईगुडीमा जन्मिनुभएकी राई तीन दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय हुनुहुन्थ्यो । ललितपुर सातदोबाटोमा बस्दै आउँनु भएकी उहाँले गतवर्ष मात्रै श्रीमान् गुमाउनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एमए गर्नुभएकी राईले जाउलाखोलमा रहेको युनाइटेड एकेडेमीमा नेपाली साहित्य अध्यापन गराउँदै आउनुभएको थियो । ‘गाउँले’मा समावेश ‘मायालुको मुहारै हँसिलो’, ‘लेखान्त’को ‘सँगसँगै बाँच्न पाउँ, सँगसँगै मर्न पाउँ’, ‘परदेशी कान्छा’मा समावेश ‘मरि गए मुरी माटो बाँचे सगरमाथा’, ‘माझी दाई’को ‘आज मैले राम नामै जपेँ’ लगायत उहाँका चलचित्रका रुचाईएका गीत छन् । त्यस्तै आधुनिकतर्फ ‘सुनकोशीको सुनको पानी’, ‘सम्झनाले’, ‘लाग्यो कि गोली’, ‘घामले पनि पोल्छ’, ‘चुलबुले मन’, ‘किन तिमी टाढा भयौं’लगायतका गीत रहेका छन् ।






