✍️ हेमराज अधिकारी
तुमिन, पूर्व सिक्किम
जेठ १५ ।
दुनियाँलाई महामारीले खुत्रुक्कै पारे पनि खेती किसान गर्नेहरूलाई यो महामारी बेअसर देखिन्थ्यो । गाउँलेहरू सिमित खेतला पर्मा पात गरेर मानो खाएर मुरी उब्जाउनु कहिले पछि परेनन् । साच्चै भन्नु हो भने परारको सालसम्म बन्जर देखिने बाँजो जमिन पोहोरको महामारीदेखि यता सबै प्रायः खेतीयोग्य हुनु थाल्नु जैविक अभियानलाई थप उर्जाको बिषय थियो ।
शहरीकरणको लोकप्रियता यो महामारीले स्वात्तै बनायो । आठ दश हजारकै काम किन नहोस्, शहरमै गएर डेरा जमाउछु, गाउँ बस्तीमा बसेर के हुन्छ र भन्नेहरूको सोचमा यो महामारीले पानी फेरदियो । जिजु बाजेले गरेको परम्परागत खेती अहिले आएर पुर्खाको मार्गदर्शन मात्र नभएर अहिलेको मान्छेलाई जीवन दर्शनसमेत भयो । शहरिया जीवन सर्वोपरि ठान्नेहरू पनि अहिले गाउँमै आएर काँटा, कोदालो, हँसिया–कँचिया, डोको नाम्लो, हलो, आलि, हिलो चिप्लो रुचाउने भए । गाउँका हाकिम कहलाइने, खेती किसानलाई कहिले गन्तिनै नगर्नेहरू पनि अहिलेको यो महामारीमा गाउँमा आएर कृषकहरुसँँगै हातेमालो गरेको देख्दा समयनै साँच्चै बलवान रहेछ भनेर मान्न सकिन्छ । दङ्दङ्ती पसिना गन्हाउने साँहिला-माइलाहरूको संघर्षमय जीवन वास्तवमै सर्वश्रेष्ठ रहेछ भन्ने शहरेहरूले कानेखुशी गर्दै भटाभट गाउँ पस्नु थालेकोलेनै स्पष्टता झल्किन्छ । जेठ हप्ता पन्ध्र बितिसकेकोले गाउँलेहरू सबै आ-आफ्नो खेतमा धान रोप्नु ब्यस्त थिए । यो पल्ट रामबाबु पनि खेती गर्न गाउँ आएका थिए ।
रामबाबुको टारी खेत अत्यन्तै लोभलाग्दो थियो । गाउँका हर्के, बिरे, धने, मने, बाटुली, मनमाया, धनमाया, नरमाया, सबै-सबै रामबाबुको खेतमा बिहानैदेखि भेला भए । हर्के र बिरेले हलो र दाँधेमा गोरु नारे । रामबाबुले खुशीको साथमा फ्याउरी लिएर खेतमा पसे । धनमती, मनमती, फूलमाया, खिनमाया बियाढ्मा बिउ काढ्नु पसे । मेलो सुरु हुनुभन्दा अघिनै पानी पर्नुसम्म पर्न थाल्यो । सबैले सीसा ओढ्दै रामबाबुको रोपाइँ सुरु गरे । शहर बजारमा खानु लाउनुको दुःख छैन, अब यतिकै पुग्छ होला भनेर गाउँलाई बिर्सिएका रामबाबुलाई सबै खेतलाहरूले गिज्याउन र खिसिटिउरी गर्न छोडेनन् । बाउसे केटाहरूले बिहानै हिलो छ्याप्ने काम गर्नुथाले । खेतला सबै आउनु बाँकी थियो । रामबाबुलाई गाउँलेहरूले गिज्याएको देखेर भित्रभित्रै कुतिकुति लागेर आयो । हर्केले गोरु घुमाउदै रामबाबुलाई छड्के हान्यो । ‘आची शहर बजारमा बस्ने मान्छेलाई त कति नसुहाएको हो ? मजाले शहरमा सुकिलो-मुकिलो भएर हाकिम जस्तो बस्नु छोडेर केको दुख देखाएको होला ? अहिलेसम्म यो खेत बज्याउँदा पनि भइरहेको थियो त ? बिनासिथ्थामा ?’ रामबाबु बोल्नु नपाउदै बिरेले थप्यो, ‘अनि महामारीले तोरिको फूल देखायोनी त हर्के शहराँ त ? खोई हामी ढुङ्गा माटोमै जन्मेर हुर्केर आधी ढुङ्गा माटो पेट भित्र हालेर दिनरात चौबीसै घन्टा खटिदा पनि केहि भएको छैन क्यारे ?’ रामबाबु केही बोलेनन् तर पिचिक पिचिक गरी अमिलो थुक तीन खेप जति थुके । बिउ काढ्नेले बिउ टुंगा टुंगामा पु¥याउनु थाले । बाउसे रोपारहरू पनि मेलामा पुगे । रामबाबुको रोपाइँ धुमधामाले सुरु भयो । असारे रसीया पनि रोपारहरूले गाउन थाले । धनमाया र मनमाया एकै स्वरमा उर्लिए । ‘छुपुमा छुपु धान रोपौं फुपू रामबाबु मालिकको, दस बर्ष सम्म बाँज्येको खेत रोपौं है पातलो ।’ बाउसेहरूले हुर्र्र हुर्र गरेर टारी खेत थर्काए । हाहा र होहो गर्दै रामबाबुको बँज्येको खेतले महामारीको निहुमा धानको गाभो पायो । माथी डाँडाबाट खिनमाया कराउँदै ‘पातलो रोपुँ है पातलो,
अहिलेसम्म लुँडि कुहिएको मलै मल प्रशस्त छ लु पातलो पातलो’ भन्दै डाडा–काँढा हल्लिने गरी कराई । बिरेले दाँदे माथी दुइटा खुट्टा राखीटारी खेतका लामा लामा गह्रामा एकसयको स्पिढ्मा गोरु उडायो । गाउँ घरका सबै खेतलाहरूलाई हुनुसम्मको रमिता भयो । रोपार बाउसेले हिलो छ्यापेर रामबाबुलाई फ्याउरी फ्याँकेर भागुन्जेल बनाए । दिउँसो देखी पानी पर्न रोकियो । रामबाबुका घरकाले चिया खेतला भएकै ठाउँमा पु¥याए । रामबाबु डिलमा उभिएर रमिता हेरिरहेका थिए । अहिलेसम्म यति राम्रो खेत बँज्याएको संझेर रामबाबुको आँखा रसाए । हेर्दाहेर्दै पित्रीहरू सब खुशी भएर टारी खेतको खलेगह्रामा नाचे जस्तै लाग्यो उनलाई । एकोहोरो सोच्दै जादा शहरको त्यो टङ्रङ्ग घर पानीको भेलले स्वात्तै बगाए जस्तै लाग्यो उनलाई । जिन्दगीमा आज मात्र मैले एउटा असल र सफल कार्य गरे भन्ने उनलाई लाग्यो । ‘रामबाबु चिया’ भनेर बाटुली कराउँदा ऊनी झसङ्ग भएर झन्डै लडे । भित्तो समाउँदै उनले चियाको कप समाए ।
दिउँसोको दुई घडी नहुदै खलेगह्रामा रोपार आइपुगे । खलो बाँध्नुपर्छ भन्दै रोपारहरू रामबाबुको टुप्पिमा बिउ र हिलो राख्न आइपुगे । बिधिबिधान अनुरुप रामबाबुले उचित दक्षिणा खलेगह्राको बीचमा राखिदिए । बिउ माथी बिछ्याइएको रुमालमा बिउ चुढ्दै रोपारहरूले रसीया गाउँदै आशिर्वाद दिए । बाबु बाजेले खाइनखाई भुँडीमा पटुका कसेर यतिको टारी खेत राखिदिएकोमा उनले पित्रीहरुलाई धन्यवाद दिए । हली बाउसे हलो–कोदाली पखालेर रामबाबुको घरमा खाजा खानु पुगिसकेका थिए । हिलोले चुर्लुम्मै डुबेर रामबाबु पनि घर पुगे । नुहाई धुवाई सकेर सुकिलो लुगामा उनि आगनमा निस्किए ।
सबैले हाँस्दै रमाइलो गर्दै खाजा खाए । बेलुकी साँझसम्म रामबाबुको घरमा रमाइलो भयो । गाउँलेले अब यो महामारीमा शहरका केटाकेटी गाउँमै ल्याएर गाउँको वातावरणमा घरमा राख्ने सहमती र सल्लाह दिए । रामबाबुले बेलुका शहरमा फोन गरेर भोलिदेखी गाउँ आउनुपर्छ औ गाउँको वातावरणमा हामी यतै बस्नुपर्छ भनेर परिवार बोलाए । छोरा बुहारी नातानातिना सबै भोलिपल्ट गाउँमा भेला भए । शहरमा बँध्वा भएर एउटा सिमित कोठामासिमित जीवन बिताएका परिवार गाउँमा आउदा रम्नुसम्म रमाए । रामबाबुले गाउँ घरका शहरमा भएका उनका आफ्ना बिराना सबैलाई गाउँमै गएर गाउँको हावापानीमा रम्ने सल्लाह दिए । रामबाबुले परिवारलाई टारी खेतमा लगेर रोपाई भएको औ अब आफ्नै धानको भात खानुपाइने बताए ।
तिथि सरादमा आफ्नै जिजु बाजेको खेतको धान चामल दुना टपरीमा हाल्नु पाइने बताए । शहरको फृजमा ओइलाएर चाउरी परेका साग सब्जी अब गाउँमा खानु नपर्ने र लहलह हरिया सागपात खान पाइने बताए । रामबाबुले जैविक खेती र यसको दुनियाँमा बढ्दो आवश्यकतालाई गाउँमा बुझाउनु सम्म बुझाए । जाबो सानो किराया उठ्ने प्रलोभनमा मैले आफ्नो आयु सर्वनाश गरेंछु भन्दै परिवारलाई सुनाए । परिवारले पनि अब उप्रान्त गाउँमै बस्ने र गाउँको उत्पादन शहरमा पु¥याउने सल्लाह दिए । रामबाबुको मधुमेह (डाइबेटिज) गाउँमा आएदेखि बिस्तारै घट्न थाल्यो । उनको परिवारले पनि शहर भन्दा गाउँको जनजीवन सर्वोच्च भएको समग्र समाजलाई बताए ।






