काठमाडौं
जेठ १५ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार अहिले चक्रवात ‘यास’ पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको मौसममा रहेको छ । जसका कारण शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भीषण वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना छ ।






