काठमाडौं,
वैशाख ३० ।
बिहीबार थप आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पिसिआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय सक्रिय संक्रिमतको संख्या एक लाख पाँच हजार २०७ रहेको छ ।
देशभर १७ सय बढी कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । एक हजार ३८१ आइसीयू र ३८० भेन्टिलेटरमा गरी एक हजार ७६१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार एक हजार ५२६ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
यस्तै पाँच हजार ५५ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालका कोरोना निको हुनेको संख्या तीन लाख २१ हजार ५१८ जना पुगेको छ । नेपालमा निको हुने संक्रमितको दर ७४ दशमलब ६ प्रतिशत छ ।
काठमाडौं उपत्यकामा बिहीबार तीन हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका दुई हजार ७३३ छन् । यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंमा योसँगै कोरोना संक्रमितको संख्या एक लाख ५६ हजार ५३३ पुगेको छ भने सक्रिय संक्रमित ३१ हजार ७३ रहेका छन् । काठमाडौंमा संक्रमणबाट एक हजार सात जनाले ज्यान गुमाएका छन् ।
यस्तै बिहीबार इलाममा ८, उदयपुरमा २३, ओखलढुंगामा २, खोटाङमा २, झापामा २५८, ताप्लेजुङमा १८, धनकुटामा १७, पाँचथरमा २, भोजपुरमा १०, मोरङमा ३५८, संखुवासभामा ५४, सुनसरीमा १२१, सोलुखुम्बुमा १०, धनुषामा २०४, पर्सा ९९, बारामा २१, महोत्तरीमा ८५, रौतहटमा ६६, सप्तरीमा ९२, सर्लाहीमा २३, सिरहामा २३, काभ्रेपलाञ्चोकमा १६०, चितवनमा २९३, दोलखामा ७, धादिङमा ७८, नुवाकोटमा ३१, मकवानपुरमा ६, रसुवामा ११, रामेछापमा ६७, सिन्धुपाल्चोकमा ७४, सिन्धुलीमा ४५, कास्कीमा २३७, गोरखामा ९२, तनहुँमा ३१, नवलपरासी पूर्वमा १२९, पर्वतमा ५, म्याग्दीमा ५, लमजुङमा ११, बागलुङमा ८ र स्याङजामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै अर्घाखाँचीमा २६, कपिलवस्तुमा ५३, गुल्मीमा १३, दाङमा २१७, नवलपरासीमा ३५, पाल्पामा ६२, प्युठानमा २४, बर्दियामा ४४, बाँकेमा २५२, रुपन्देहीमा ५११, रोल्पामा ६३, कालिकोटमा २४, जाजरकोटमा ५, जुम्लामा १४, डोल्पामा २, दैलेखमा ३४, रुकुम पश्चिमा ४२, सल्यानमा १४३, सुर्खेतमा १५९, हुम्लामा २, अछाममा ४९, कञ्चनपुरमा १८२, कैलालीमा ३७०, डडेल्धुरामा ३८, डोटीमा १३, दार्चुलामा ४, बझाङमा २ र बैतडीमा ८९ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।
बिहीबार थप २१४ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै हालसम्म चार हजार ४४६ जनाको मृत्यु भएको छ । बुधबार देशभर १६८ जना संक्रमितको मृत्यु भएको थियो ।






