काठमाडौं,
वैशाख ३० ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारीगर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको उल्लेख गरेको छ ।
महाशाखाका अनुसार हाल देशका अधिकांश भू-भागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै आज दिउँसो देशभर सामान्य बदली रहने छ ।
आज देशका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती प्रदेश १ सहित देशका पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको तथा सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरको छ ।






