निफमा नवीन र सरिता उत्कृष्ट अभिनेता-अभिनेत्री

काठमाडौं,
वैशाख २८ ।

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) अवार्डको विजेता फिल्मको सूची सार्वजनिक गरिएको छ । फेस्टिभल बैशाख २२ देखि ५ दिनसम्म चलेको थियो ।

फिल्म ‘लाटोकोसेरो’बाट सरिता गिरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल हुनुभएको छ भने नवीन शिल्पकारले पनि ‘लाटोकोसेरो’बाट उत्कृष्ट अभिनेताको उपाधि जित्न सफल हुनुभयो । त्यसैगरी, शिरिष गुरुङले फिल्म ‘लाटोकोसेरो’बाटै उत्कृष्ट सिनेमेटोग्राफर घोषित हुनुभयो । फेस्टिभलमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धातर्फ निर्देशक धोन्डुप छिरिङको ‘आमाखान्डो’ले उत्कृष्ट फिल्मको उपाधि हात पार्‍यो । उत्कृष्ट निर्देशकको अवार्ड समेत धोन्डुप छिरिङले नै जित्नुभयो ।

फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड भने ‘सरिता टेल मी हु आइ एम’बाट सर्जियो बासोले जित्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले जित्यो । जुन फिल्मले गौतमबुद्ध अवार्डसहित १५ सय अमेरिकी डलर पाप्त गरेको छ । सर्ट फिल्म तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय फिल्ममध्ये दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय पुरस्कार राशि रहेको वाग्मती पुरस्कार जितेको छ ।

नेपालबाट भने राजेशप्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट सर्ट फिल्ममा घोषित भयो । यो फिल्मले ५ सय डलर पुरस्कार पाएको छ । फेस्टिभलमा महामारीको विषयमा बनेका फिल्ममध्ये गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट फिल्म घोषित भएको छ । फिल्मले ५ सय डलर पुरस्कार पाएको छ ।

त्यसैगरी, फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ एनिमेटेड विधामा उत्कृष्ट भएसँगै ७ सय ५० डलर पुरस्कार राशि रहेको मञ्जुश्री अवार्ड जित्यो । डकुमेन्ट्र तर्फको अवार्ड भने स्वीजरल्यान्डको ‘रिटर्न टु दि लस्ट इडेन’ ले पायो। यो फिल्मले १ हजार डलर पुरस्कार राशि रहेको माउन्ट एभरेस्ट अवार्ड पाएको छ । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका चौथो संस्करणको फेस्टिभलमा यो वर्ष ६६ फिल्महरु प्रतिस्पर्धामा रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार