कविता : आमा

✍️ गीताश्री शर्मा
गान्तोक, सिक्किम
वैशाख २८ ।

गड्याङ् गुडुङ् गरेर
आकाशलाई कालो बादलले छोप्ता
तिम्रो ममता कहिले छोपिएन,
धर्ती कम्पनले ग्रस्त हुँदा पनि
तिम्रो कर्तव्य कहिले रोकिएन ।

कहिले यसै सोच्ने गर्छु !
दबिँदै थिए होलान् कति रहरहरू
तर पनि हाम्रा रहरहरूलाई दब्न दिइनौ,
कति आए दुःखलाई धार दिने रेतीहरू
घोटिएरररेटिएर पनि तिमी कहिल्यै खिइनौ ।

हाम्रै आँखा अघि पनि
नछाएको कहाँ हो र अन्धकार तिम्रो
हुन‌ दिइनौ आभास त्यो कालो रातको
हरपल ज्योति छरिरह्यौ ।

उकुसमुकुस हुने गर्थ्यो कहिले बाहिरी वातावरण
त्यो निश्सासिदो मौनतालाई पर राखेर
हाम्रो निम्ति नहिचकिचाई श्वास प्रश्वास लिइरह्यौ ।

कहिले सम्झन्छु म आमा ! तिमीलाई
न आएका होइनन् शब्दबाणहरू,
तर तिमीसँग जोडिएका थिए धेरै प्राणहरू
यसैले पचायौ, मिथ्या शब्द प्रहार,
मातृत्वको जग दह्रो थियो
पिइदियौ त्यो कालकूट बिष
नीलकण्ठ बनेर,
यसैले हार्‍यो त्यो हरेक बिषालु प्रहर
सुकेर गयो कालकूट बिष ।

यसैले मलाई गर्व लाग्छ‌ तिम्रो सन्तान हुँ भन्न
सक्तिन बिर्सन तिम्रो त्यो त्याग र बलिदान ।

मेरा हातका औंलाहरू,
मेरा शरीरका अङ्ग अङ्ग
तिम्रो ममताले छोएको छ, छामेको छ
मुटु र धड्कन तिम्रै रगत र पसिनाले
सिन्चेको छ ।

तिम्रो माया र ममता देखेर
देश पनि रोएको छ ।

हुनत आमा !
तिमी रुनु र देश रुनु एउटै लाग्छ !
किन कि ?
तिम्रो नाममा देशको छवि आउँछ
माटोको बास्ना आउँछ !
जब जब म आँखा बन्द गर्छु
तिमी भित्र सिङ्गो संसार समेटिएर आउँछ ।

तर पनि आमा !
सबै गलेर, थाकेर लखतरान हुँदा पनि
तिमी थाकेनौ
तिम्रा पाउहरू थाकेनन्,
समयले हरेस खाई सुसेल्न छोड्दा पनि
तिम्रा अधरहरू मुस्कुराउन छाडेनन्
हाँस्न बिर्सिएनन् ।

नराम्रो देसानले आज
देश झोक्रिरहेको छ,
भित्र भित्र खोक्रिरहेको छ,
तर पनि आमाको ममता झोक्रिएको छैन
आमाको कर्तव्य कहिले खोक्रिएको छैन,
निन्याउरो मुहार कतै देखिएको छैन !
यसैले म भन्दै छु आमा !
मातृदेवो भवः !!
तिम्रो दर्शनदेखि पर ठूलो‌ अर्को धाम छैन,
आमाभन्दा पवित्र शब्द अरू कुनै नाम छैन !!

(मातातीर्थ औंसीको शुभोपलक्ष्यमा माताहरूकन नमन !)

यसमा तपाइको मत

अन्य समाचार